काठमाडौं । कलंकी–नागढुंगा सडकखण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नं. ११ र वडा नं. १२ को सिमानास्थित सडक किनारामा रहेको ठूलो खाल्डोका कारण दुर्घटनाको जोखिम बढ्दै गएपछि चन्द्रागिरि नगरपालिकाले स्थलगत अनुगमन गरेको छ ।
नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठको नेतृत्वमा गरिएको अनुगमनका क्रममा उक्त खाल्डोका कारण सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको सम्भावना उच्च रहेको निष्कर्ष निकालिएको थियो ।
उक्त स्थानमा खाल्डोका कारण केही समयअघि दुर्घटना समेत भइसकेको छ । त्यसपछि पनि सडक मर्मत नहुँदा जोखिम झन् बढ्दै गएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।



अनुगमनपछि उपप्रमुख श्रेष्ठले सडक विकास बोर्डका प्रतिनिधिसँग छलफल गर्दै तत्काल मर्मत कार्य अघि बढाउन आग्रह गर्नुभएको थियो । छलफलमा बोर्डका प्रतिनिधिहरूले समस्या यथाशीघ्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै पक्षबीच सडकलाई सुरक्षित बनाउन आवश्यक मर्मत कार्य तत्काल अगाडि बढाउने सहमति भएको जनाइएको छ ।
उपप्रमुख श्रेष्ठले नागरिकको जिवनसँग जोडिएको विषय भएकाले सम्बन्धित निकायले ढिलाइ नगरी सडक मर्मत गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्ने बताउनु भयो ।
अनुगमनका क्रममा चन्द्रागिरि नगरपालिकाका प्राविधिक शाखा प्रमुख सन्तोष अधिकारी, वातावरण तथा विपद् शाखा प्रमुख भद्रा अर्याललगायतको उपस्थिति थियो ।



