चितवन –चितवनको पर्यटन र वन्यजन्तु संरक्षणमा दशकौँदेखि हात्तीको महत्वपूर्ण भूमिका रहँदै आएको छ। जंगल सफारीदेखि निकुञ्ज गस्ती, वन्यजन्तु उद्धार र संरक्षणका विभिन्न गतिविधिमा प्रयोग हुँदै आएका हात्ती अहिले भने संख्या घट्दै गएको र व्यवस्थापन चुनौती बढ्दै गएको अवस्थामा छन्। हात्तीको कल्याण, पशु अधिकार र व्यवसायिक प्रयोगबारे बहस बढिरहेका बेला चितवन राष्ट्रिय निकुञ्जले समस्यामा परेका तथा वृद्ध हात्तीको व्यवस्थापनसहित निजी हात्ती व्यवसायलाई व्यवस्थित बनाउने विषयमा विभागमा अवधारणा पत्र बुझाएको छ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्जसँग रहेका हात्तीलाई संरक्षणका विभिन्न काममा प्रयोग गरिँदै आएको छ। हाल निकुञ्जमा ३० वटा भाले र २६ वटा पोथी गरी ५६ वटा हात्ती रहेको बताइएको छ। नेपालमा रहेका निजी हात्तीमध्ये ठूलो संख्या चितवनमै रहेको व्यवसायीहरू बताउँछन्। करिब ७० वटा निजी हात्तीमध्ये ४६ वटा चितवनमा रहेको तथ्यांक सार्वजनिक गरिएको छ। हात्ती दिवसका अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा निकुञ्ज तथा निजी क्षेत्रका गरी ५५ वटा हात्तीलाई सामूहिक रूपमा वनभोज गराइएको थियो।

संरक्षणदेखि उद्धारसम्म हात्तीको भूमिका

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार हात्ती पर्यटनमा मात्र सीमित छैनन्। वन्यजन्तु संरक्षण, निकुञ्ज गस्ती तथा विपद्का समयमा उद्धारका काममा समेत हात्तीको उपयोग हुँदै आएको छ। बाढी, पहिरो तथा अन्य विपद्का समयमा कठिन स्थानमा पुग्नुपर्ने अवस्थामा हात्ती उपयोगी हुने गरेको उहाँको भनाइ छ। त्यस्तै, जंगली जनावर बस्तीमा प्रवेश गर्दा नियन्त्रण तथा व्यवस्थापनका काममा समेत हात्तीको प्रयोग हुने गरेको छ। वनमा हात्तीको आवतजावतले अन्य वन्यजन्तुको आवागमनमा समेत प्रभाव पार्ने भएकाले हात्तीलाई कतिपय संरक्षणकर्मीले ‘जंगलको इन्जिनियर’ का रूपमा समेत व्याख्या गर्ने गरेका छन्।

सौराहामा निजी हात्तीको संख्या घट्दै

चितवनको पर्यटनसँग हात्ती सफारीको सम्बन्ध पुरानो छ। तर पछिल्लो समय निजी हात्तीको संख्या निरन्तर घट्दै गएको व्यवसायीहरूको भनाइ छ। वसायीका अनुसार सौराहामा कुनै समय करिब ९० वटा निजी हात्ती रहेकामा अहिले संख्या घटेर करिब ४५ वटाको हाराहारीमा पुगेको छ। पशु अधिकार र हात्तीको कल्याणसम्बन्धी बहस बढ्दै जाँदा हात्तीको व्यवसायिक प्रयोगमा विभिन्न प्रश्न उठेका छन्। त्यसको प्रत्यक्ष प्रभाव निजी हात्ती पालन तथा सफारी व्यवसायमा परेको व्यवसायीहरूको दाबी छ। उनीहरू भने हात्तीलाई व्यवसायबाट पूर्ण रूपमा अलग गर्नेभन्दा पनि स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राखेर व्यवस्थित रूपमा प्रयोग गर्नुपर्ने बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय