तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ । आगामी शनिबारदेखि तिहार सुरु भए पनि अहिलेदेखि नै आवश्यक पर्ने सामानको किनमेल सुरु हुन थालेको हो । मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, लगनखेल, बानेश्वर, कोटेश्वर, ठिमीलगायतका बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड लाग्न थालेको छ ।

विशेष गरी तिहारका लागि आवश्यक पर्ने, माटोका पाला, झिलिमिली बत्ती, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका माला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, अमला, भाइमसला, कपडाको किनमेल बढ्न थालेको व्यवसायीको भनाइ छ । चहलपहल बढे पनि व्यापारमा भने उत्साह नभएको व्यापारीको भनाइ छ । गत वर्षको तुलनामा तिहारमा खपत हुने भाइमसलाको मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

व्यवसायीका अनुसार बजारमा काजु प्रतिकेजी एक हजार पाँच सय रुपियाँ, किसमिस प्रतिकेजी पाँच सय, पेस्ता प्रतिकेजी दुई हजार एक सय, ओखर प्रतिकेजी पाँच सय, मिस्री १८०, नरिवल प्रतिकेजी ४५०, दालचिनी प्रतिकेजी सात सय, सुकमेल प्रतिकेजी दुई हजार पाँच सय रुपियाँ मूल्य रहेको छ । माटोका पाला प्रतिदर्जन ४० देखि ५० रुपियाँमा बिक्रीका लागि राखिएको छ । तिहारका लागि भक्तपुरको विभिन्न ठाउँबाट व्यवसायीले सयपत्रीका माला न्युरोडमा ल्याएर बिक्री गर्न थालेका छन् ।

तिहारमा सेलरोटी पकाउनका लागि कराहीसमेत बढी बिक्री हुने गर्छ । बजारमा मखमलीमाला प्रतिगोटा ३० रुपियाँदेखि ५० रुपियाँसम्म बिक्री भैरहेका छन । बजारमा टोपीको गुणस्तर हेरेर प्रतिढाकाटोपी एक सय रुपियाँदेखि पाँच सय रुपियाँसम्ममा बिक्री भैरहेको छ । यस्तै सुनचाँदी पसलमा पनि ग्राहको भिडभाड लाग्ने थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय