सरकारले बडादशैँ, तिहार र छठ पर्वमा घर जाने यात्रुलक्षित गरिअग्रिम टिकट बुकिङ खुला गरेको छ। संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका र चाडपर्व मनाउन घर जानेलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ सोमबारबाट खुला गरेको हो।घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुहरुको घुइँचो लागेको छ। यो वर्ष विगतको तुलनामा यात्रुको भीडभाडसमेत बढेको छ।अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता र उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दशैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौं उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ।कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राख्नेगरी तयारी पुरा भएको बताएकाछन् । अहिलेको अवस्थामा सात स्थानमा राखिसकेका छौँ’, उनले भने, थप १३ स्थानमा राख्छौँ, आवश्यक परे अन्य स्थानमा समेत थप गर्न सकिन्छ।’यो वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ। जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ।लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दशैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको बताए। सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ।






