काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत अति जोखिमयुक्त मानिने नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा पहिरो र बाढीले भत्काएको सडकमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक निर्माण सकिएसँगै भोलिदेखि राजमार्गमा साविकझैँ पूर्ण रूपमा सवारी साधन सञ्चालनमा ल्याइने भएको हो। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार लगातारको बाढी र पहिरोले अवरुद्ध बनेको सडक खुलाउन निर्माण टोलीले द्रुत गतिमा काम गरेको थियो। आइतबार भित्तातर्फको डाँडा कटिङ गर्ने र सडक सम्याउने कार्य सकिएपछि परीक्षणका रूपमा केही सवारी साधन आवतजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित यातायात सञ्चालनका लागि अन्तिम तयारी पूरा गरिएको छ।

३०० मिटर नयाँ ट्रयाक र चौडा सडक

पहिरोले सडकको ठूलो भाग बगाएपछि प्राविधिक टोलीले भित्तातर्फ काटेर करिब तीन सय मिटर लामो नयाँ ट्रयाक तयार पारेको हो। उक्त ट्रयाकमा ७ मिटर चौडाइको मुख्य सडक र नालीसहित करिब साढे सात मिटरको मजबुत संरचना निर्माण गरिएको छ। सडक खुलाउनका लागि ठूलो परिमाणमा प्राविधिक, हेभी इक्युपमेन्ट र जनशक्ति परिचालन गरिएको थियो । निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११ देखि १२ वटा उपकरण परिचालन गरिएको थियो। ट्रयाक खोल्ने र सम्याउने काममा ग्रेडर, रोलर र एक्साभेटरसहित ५ देखि ६ वटा हेभी इक्युपमेन्ट प्रयोग गरियो। कठिन भौगोलिक स्थितिमा काम छिटो सक्न करिब ४० देखि ५० जना दक्ष तथा अदक्ष मजदुरहरू निरन्तर खटिएका थिए। काठमाडौँ उपत्यकालाई देशका अन्य भागसँग जोड्ने मुख्य राजमार्ग सञ्चालनमा आउने भएसँगै लामो समयदेखि सास्ती खेप्दै आएका यात्रु तथा ढुवानी व्यवसायीहरूले ठूलो राहत पाउने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय