प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायल युद्धमा बेपत्ता भएका बिपिन जोशीको रिहाइको लागी सरकारले पहल गरिरहेको बताएका छन् । धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई बिपिनका बुवा महानन्द जोशी बिमान स्थलमा भेटेका थिए । त्यस क्रममा महानन्द जोशीले छोराको रिहाईको लागि पहल गर्न प्रधानमन्त्रीलाई अपिल गरेका थिए ।
‘हामी पहल गरिरहेका छौँ । केही सकारात्मक उपलब्धि हुन सक्छ ।’ प्रधानमन्त्रीले बिपिनका बुवालाई भने ।भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका जोशी अहिले सम्पर्कविहीन छन् ।



असोज २० मा प्यालेस्टाइनी विद्रोही हमास समूहको आक्रमणमा जोशीसँगै रहेका १० नेपालीको मृत्यु भयो । त्यही दिन बेपत्ता भएका जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् ।



