काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमी टीकाको साइत सार्वजनिक गरेको छ । समितिका अनुसार यस वर्ष कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेट उत्तम साइत रहेको जनाएको छ ।यस वर्षको बडादशैं असोज २८ गते आइतबारबाट सुरु हुने पनि समितिले जनाएको छ । जुनदिनलाई नवरात्र प्रारम्भ वा घटस्थापना पनि भनिन्छ ।
घटस्थापनको शुभ साइत २८ गते बिहान ११ बजेर २९ मिनेटमा रहेको पनि समितिले जनाएको छ । यसैगरी कात्तिक ७ गते विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटको साइत दिइएको समितिले जनाएको छ ।



गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैँ शुरु हुँदैछ । कात्तिक पहिलो हप्ता बडादशैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ समाप्त हुन्छ ।



