पूर्वराजा ज्ञानेन्द्र शाहले १७ वर्षसम्म जसोतसो बनाएको ‘शालीन पूर्वराजा’ को छवि तीनकुने घटनाले एकै झट्कामा ध्वस्त पार्यो। जब(जब मुलुक अस्थिर बन्छ, राजसंस्थाप्रति आस्था राख्नेहरूमात्र नभएर अरुले पनि ज्ञानेन्द्र पो ठिक हो कि भन्ने गर्थे । ज्ञानेन्द्र राजनीति गर्ने कि नगर्ने भन्ने दोधारमै रहँदा रहँदै, हिंसात्मक आन्दोलनमा जोडिएपछि नागरिकको नजरबाट उनी आलोचितमात्र बनेन्, उनको पुनरावगमनको सम्भावना करिव सकिएको छ । दुई जनाको ज्यान जाने गरी भएको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईंलाई अघिल्लो दिन भेटेर उक्साएका ज्ञानेन्द्रको भूमिकाप्रति सरकार आक्रामक बन्यो— नजरबन्द, राहदानी रद्दको तयारी, सुरक्षा कटौती १ जनताले उनलाई राजसंस्थाका धरोहर होइन, हिंसाको सूत्रधार भन्न थालेका छन्। २०६१ माघ १९ को गल्ती दोहोर्याउँदा फेरि एकपटक पूर्वराजाले गुमाएको अवसर फर्किंदैन भन्ने पाठ सिक्न सकेनन्। भुइँको टिप्न खोज्दा ज्ञानेन्द्रले एक रातमा सर्वश्व गुमाएका छन् ।
२०६३ सालमा राजतन्त्रको अन्त्यपछि ज्ञानेन्द्र राजनीतिक रूपमा निष्क्रिय जस्तै थिए। तर, जनस्तरमा उनीप्रति केही सहानुभूति बाँकी थियो। खासगरी, मुलुकको अस्थिर राजनीति, भ्रष्टाचार, कमजोर शासन व्यवस्था र बढ्दो महँगीका कारण कतिपय जनता निराश थिए। यही निराशाको फाइदा उठाउँदै राजसंस्थाका समर्थकहरूले उनलाई फेरि देशको अगुवा बनाउने सपना देख्दै आए। ज्ञानेन्द्र स्वयं पनि धार्मिक स्थल भ्रमण गर्दै, न्यून तर प्रभावशाली अभिव्यक्तिहरू दिँदै आफूलाई राष्ट्रवादी छवि निर्माण गर्नतिर लागेका थिए।



तर, चैत १५ मा भएको तीनकुनेको हिंसात्मक आन्दोलनपछि सबै कुरा उल्टियो। आफ्ना समर्थकहरूमार्फत गरिएको हिंसात्मक प्रदर्शनका कारण दुई जनाले ज्यान गुमाए, सार्वजनिक सम्पत्तिमा आगजनी भयो, निजी पसल लुटिए, एकीकृत समाजवादीको कार्यालय जलाइयो। सरकारको निष्कर्ष छ— यो सबै घटनाको योजनाकार स्वयं ज्ञानेन्द्र नै हुन्। यससँगै, उनले पछिल्लो १७ वर्षमा बनाउँदै आएको शालीन पूर्वराजा को छवि एकै रातमा ध्वस्त भएको छ।
ज्ञानेन्द्रले शान्तिपूर्ण रूपमा राजसंस्थाको वकालत गरेको भए, सम्भवतः उनी अझ लोकप्रिय बन्न सक्थे। किनभने वर्तमान राजनीतिक दलहरूप्रति ठूलो असन्तुष्टि थियो। धेरैले उनलाई वैकल्पिक शक्ति भनेर हेर्न थालेका थिए। तर, हिंसात्मक आन्दोलनमा उनको संलग्नता देखिएपछि, उनी एक जिम्मेवार नेताको रूपमा होइन, अराजकताको सूत्रधारको रूपमा चित्रित भए। राजसंस्थाप्रति आस्था राख्नेहरू पनि अहिले निराश छन्। उनीहरूले ज्ञानेन्द्रको नेतृत्वमा केही नयाँ हुने आशा राखेका थिए, तर उनले पुरानै अधिनायकवादी शैली देखाए। जसरी २०६१ मा सशस्त्र बल प्रयोग गरेर उनले लोकतन्त्र दबाउने प्रयास गरे, अहिले पनि परोक्ष रूपमा उक्साउने काम गरे।
यदि उनले आफ्ना समर्थकहरूलाई संयमित राख्न सक्थे भने, अहिलेको परिस्थिति फरक हुनसक्थ्यो। उनी शान्तिपूर्ण विरोध, विचार आदानप्रदान र बहसमार्फत राजसंस्थाको पक्षमा माहोल बनाउन सक्थे। तर, उनले सबैभन्दा गलत विकल्प रोजे— हिंसात्मक आन्दोलन। सरकारले उनलाई अघोषित रूपमा नजरबन्दमा राखेको छ। राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाइसकेको छ। सुरक्षाकर्मी कटौती भइसकेको छ। सरकार एक कदम अगाडि गएर राजद्रोहको मुद्दा दर्ता गर्न सक्ने अवस्थामा छ।
सबभन्दा ठूलो कुरा, जनता अब उनलाई सकारात्मक परिवर्तन ल्याउने व्यक्ति होइन, हिंसात्मक उथलपुथल मच्चाउने पात्रको रूपमा हेर्न थालेका छन्। सिंहासनबाट हटेपछि पनि ज्ञानेन्द्रले जनताको मन जित्ने अवसर पाएका थिए। उनी आफूलाई राष्ट्रवादी, संयमी, दूरदर्शी नेताका रूपमा प्रस्तुत गर्न सक्थे। तर, हिंसा उक्साएर उनले आफ्नो नैतिकता मात्र गुमाएनन्, सम्भावित पुनरागमनको ढोका पनि बन्द गरे।



