काठमाडौं — काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा ओपीडीको टिकट लिन सेवाग्राहीको लामो लाइन लाग्ने गरेको छ। बिहानैदेखि अस्पताल परिसरमा टिकट लिन आउने बिरामी तथा आफन्तको भीड देखिने गरेको हो।
अस्पतालका अनुसार ओपीडीका लागि बिहान ७ बजेदेखि टिकट काउन्टरबाट डाक्टरको पालो र उपलब्ध कोटाअनुसार टिकट काट्ने व्यवस्था छ। अस्पतालमा दैनिक ६ सयभन्दा बढी बिरामी उपचार तथा परामर्शका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।



बिरामीको चाप व्यवस्थापन गर्न अस्पतालले ओपीडी तालिका तथा अनलाइन टिकट बुकिङको सुविधासमेत उपलब्ध गराएको छ। अनलाइन टिकटमा समस्या भए अस्पतालको सूचना प्रविधि शाखामा सम्पर्क गर्न सकिने व्यवस्था छ।
बिहानैदेखि टिकट लिन लाइन बस्नुपर्ने अवस्थाले विशेषगरी टाढाबाट आउने तथा ज्येष्ठ नागरिक र बिरामीलाई थप असहज हुने गरेको देखिन्छ। त्यसैले अस्पतालमा बढ्दो सेवाग्राहीको चापअनुसार टिकट वितरण तथा ओपीडी व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
अस्पतालले पछिल्लो समय सेवाको पहुँच विस्तार गर्न सिंहदरबारमा समेत सेवा इकाइ सञ्चालनमा ल्याएको छ। उक्त सेवाले सिंहदरबारमा कार्यरत कर्मचारीको चापलाई केही हदसम्म व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ।



