काठमाडौं । चन्द्रागिरि नगरपालिकामा वर्षौंदेखि रोकिएको एउटा महत्वपूर्ण पूर्वाधार आयोजना अन्ततः कार्यान्वयन चरणमा प्रवेश गरेको छ ।

वडा नं. ५ र ६ लाई जोड्ने पुल निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ । स्थानीयस्तरमा “चन्द्रागिरिको कर्णाली” भनेर चिनिने उक्त स्थानमा प्रदेश सरकारको ५० लाख रुपैयाँको लागतमा पुल निर्माण भइरहेको हो ।
यो पुल लामो समयदेखि स्थानीयको आवश्यकताका रूपमा रहँदै आएको भए पनि विभिन्न कारणले निर्माण कार्य सुरु हुन सकेको थिएन । विशेषगरी स्थानीय बासिन्दाबीचको असहमति, जग्गा सम्बन्धी विवाद तथा समन्वयको अभावका कारण आयोजना वर्षौँसम्म अलपत्र अवस्थामा रहेको थियो ।

वडा नं. ५ का अध्यक्ष राजेन्द्र महर्जनका अनुसार, पुल निर्माणका लागि पहल आफू निर्वाचित हुनुअघि नै सुरु भएको थियो। तर, स्थानीयको आनाकानी र विभिन्न अवरोधका कारण प्रक्रिया अगाडि बढ्न सकेन । आफू वडा अध्यक्षको जिम्मेवारी सम्हालेपछि भने उनले यस आयोजनालाई प्राथमिकतामा राखेर निरन्तर पहल थालेका थिए ।

उनले भने, “यो पुल निर्माण हाम्रो लागि निकै चुनौतीपूर्ण काम बन्यो । स्थानीयलाई सहमत गराउन धेरै पटक छलफल, संवाद र सम्झाइ–बुझाइ गर्नुप¥यो। कहिलेकाहीँ निराशा पनि लाग्थ्यो, तर अन्ततः सबैको सहयोगमा काम सुरु गर्न सफल भयौँ ।”

उनका अनुसार, करिब चार वर्षको निरन्तर प्रयासपछि मात्र स्थानीयबीच सहमति कायम भई निर्माण कार्य सुरु गर्न सकिएको हो । अहिले निर्माण कार्य नियमित रूपमा अघि बढिरहेको छ र निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माणाधीन पुल २३ फिट लम्बाइको हुने छ, जसले दुई वडाबीचको आवागमनलाई सहज बनाउने विश्वास गरिएको छ । हालसम्म उक्त क्षेत्रमा वर्षायाममा आवतजावत गर्न निकै कठिन हुने गरेको थियो, जसका कारण स्थानीय बासिन्दाले दैनिक जीवनमा विभिन्न समस्या भोग्दै आएका थिए ।

पुलसँगै सुरक्षालाई ध्यानमा राख्दै रिटेनिङ वाल (समर्थन पर्खाल) पनि निर्माण भइरहेको छ । यसले भूक्षय नियन्त्रण गर्नुका साथै संरचनालाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
स्थानीयवासीहरूले पनि पुल निर्माण सुरु भएपछि खुसी व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखि भोग्दै आएको यातायातको समस्या अब समाधान हुने विश्वास लिएका छन्। पुल निर्माण सम्पन्न भएपछि दैनिक आवागमन मात्र नभई आपतकालीन सेवा, कृषि उपज ढुवानी तथा समग्र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाले पनि यस परियोजनालाई स्थानीय विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। समयमै निर्माण सम्पन्न गरी स्थानीयलाई सहज सेवा उपलब्ध गराउनेतर्फ सम्बन्धित निकायले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय