काठमाडौं । चन्द्रागिरिको नागढुंगामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । लायन्स इन्टरनेशनलअन्तर्गत जिल्ला 325E, MD325 नेपाल L/Y 2025/2026 को आयोजनामा सम्पन्न कार्यक्रम लायन्स क्लब अफ चन्द्रागिरि बाघबछलाको संयोजनमा सञ्चालन गरिएको थियो ।

“रक्तदान गरौं, जीवनदान गरौं” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दा, युवायुवती, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति र सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममार्फत संकलित रगत आपतकालीन अवस्था तथा अस्पतालहरूमा आवश्यक पर्ने बिरामीहरूको उपचारमा प्रयोग गरिने जनाइएको छ ।

आयोजकका अनुसार पछिल्लो समय अस्पतालहरूमा रगतको अभाव देखिँदै आएको सन्दर्भमा यस्ता कार्यक्रमहरूले रक्तसञ्चार सेवामा टेवा पुर्याउने विश्वास लिइएको छ । साथै, यस कार्यक्रमले सर्वसाधारणमा रक्तदानप्रति सकारात्मक सोच विकास गर्न र नियमित रूपमा रक्तदान गर्ने संस्कार बसाल्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमका क्रममा सहभागीहरूलाई रक्तदानको महत्व, यसको स्वास्थ्यगत फाइदा तथा समाजप्रतिको जिम्मेवारीबारे जानकारी समेत दिइएको थियो । रक्तदान गर्ने व्यक्तिहरूलाई प्रमाणपत्र तथा कृतज्ञता ज्ञापन गर्दै आयोजकले उनीहरूको योगदानको उच्च प्रशंसा गरेको थियो ।

लायन्स क्लब अफ चन्द्रागिरिका एरिया को–अर्डिनेटर विमला पोखरेल, लायन्स क्लब अफ चन्द्रागिरि बाघबछलाका अध्यक्ष गीता भुर्तेलले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रमको नेपाल हेयरिङ र स्पिच क्लिनिक प्रा.लि., ब्लू बर्ड मल त्रिपुरेश्वरले प्रायोजन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय