काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज भन्सार नाकाबाट मोटरसाइकल आयातमा उल्लेख्य बृद्धि भएको छ । अनएसेम्बल्ड, पूर्ण तथा विद्युतीय मोटरसाइकलको आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको भन्सार तथ्याङ्कले देखाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा चार अर्ब ५६ करोड रुपैयाँ मूल्य बराबरका ३२ हजार ३३१ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् । यसबाट राज्यकोषमा चार अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने तीन अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा मात्र अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।



यस्तै, चालु आवको पहिलो छ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका चार हजार ५६७ वटा पूर्ण मोटरसाइकल आयात भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ बराबरका दुई हजार १९२ वटा मात्र मोटरसाइकल आयात भएका थिए, जसले यस वर्ष आयात झन्डै दोब्बर बढेको देखाउँछ ।
विद्युतीय मोटरसाइकलतर्फ पनि आयात बढ्दो क्रममा रहेको छ । चालु आवको पहिलो छ महिनामा ५८ करोड १८ लाख बराबरका चार हजार ५९४ रुपैयाँ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा भने ३० करोड ९६ लाख रुपैयाँ बराबरका दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
मोटरसाइकल आयातमा आएको यस वृद्धिले बजार माग बढिरहेको संकेत गर्नुका साथै विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको देखिन्छ । यसले राज्यको राजस्व संकलनमा पनि सकारात्मक योगदान पुगेको भन्सार कार्यालयले जनाएको छ ।



