काठमाडौं – मार्ग शुक्ल पूर्णिमाको दिन, नेवार समुदायले ठूलो चाडको रूपमा ‘यमरी पुन्ही’ पर्व मनाउँदै आएका छन्। यो पर्व घरघरमा यमरी अर्थात चामलको पिठोबाट बनेको परिकार पकाएर, दान र पूजाका लागि अर्पण गर्ने परम्परा अनुरूप मनाइन्छ। बिहानैदेखि नेवार समुदायका घरमा यमरी पकाउने र साँझ युवा–युवतीले गीत गाउँदै यमरी माग्ने परम्परा रहिआएको छ। यस दिन गाइने विशेष गीतमा धन, धान, चामल वा यमरी दिने परम्परा समेटिएको छ। लोकसाहित्यकार सुमन श्रेष्ठका अनुसार, मल्लकालीन समयमा यो प्रचलन सुरु भएको हुनसक्छ। उनले बताएअनुसार गीतमा एकतर्फी प्रेमको झल्को समेत पाइन्छ।
यमरी पुन्हीलाई समय सूचक चाड र दान पर्वको रूपमा पनि लिने गरिन्छ। दिन लामो र रात छोटो हुँदै जाने भएकाले यसलाई धान्य पूर्णिमा पनि भनिन्छ। यस अवसरमा दान गरे फलिफाप हुने विश्वासका कारण, घरघरमा यमरी र अन्य अन्नको भकारीमा पूजाआजा गर्ने चलन छ।



परिकार र पूजाआजा
गृहिणीहरूले शुद्ध भएर चामलको पिठो मुछेर त्रिकोण आकारमा रोटी बनाउँछन्, जसको गर्भमा चाकु, तिल, मास, गुँदपाक, खुवा राखिन्छ र पानीको बाफमा पकाइन्छ। पकाइएको यमरीलाई धानका भकारीमा चढाउने र चार दिन, छ दिन, वा बाह्र दिनसम्म पूजाआजा गरी छोरी–चेली र आफन्तलाई भोज खुवाउने चलन छ। यमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा लिने विश्वास छ। यमरी खाए जाडो सहने शक्ति बढ्ने र शरीर हृष्टपुष्ट हुने जनविश्वास पनि छ। यसरी पकाएको यमरी धनसम्पत्ति र अन्न लाभको प्रतीक मानिन्छ।
किम्वदन्ती र सांस्कृतिक महत्व
पौराणिक कथाअनुसार, पाञ्चाल देश ९हालको पनौती० मा बस्ने दानी र धर्मात्मा सुचन्द्र दम्पतीले भगवान विष्णुका परम भक्त थिए। धनपति कुवेर ब्राह्मणको भेषमा घर पुगेका थिए। सुचन्द्रकी श्रीमतीले उनीहरूलाई यमरी खुवाएर सत्कार गरेपछि कुवेरले आफ्नो असली रूप देखाइ यमरी चढाउने विधि सिकाएका थिए। त्यसयता नेवार समुदायमा यमरी पुन्हीको परम्परा विकास भएको विश्वास छ। आजको दिन नेवार समुदायले क्षमताअनुसार पैसा, धान, चामल र यमरी दान गर्ने प्रचलन कायम राखेका छन्। यस पर्वले सांस्कृतिक संरक्षणसँगै समुदायमा एकता, दान र धार्मिक श्रद्धाको भावना बढाउने काम गरेको छ।



