काठमाडौं – सामाजिक सञ्जालमा चर्चित जमजम इलेक्ट्रोनिक्सका ‘छोटे भाइ’ मुहम्मद शकूर र ‘बडे भाइ’ अब्दुल गफूर काठमाडौं आइपुगेका छन्। उनीहरू नेपाल आएपछि काठमाडौंको सिभिल महलमा समर्थक तथा शुभेच्छुकहरूको बाक्लो भीड देखिएको छ। दुबईमा आधारित जमजम इलेक्ट्रोनिक्सका सञ्चालकका रूपमा परिचित यी दुई भाइ सामाजिक सञ्जालमा ‘Chota Bhai’ र ‘Bara Bhai’ नामले चर्चित छन्। जमजम इलेक्ट्रोनिक्सको आधिकारिक विवरणअनुसार अब्दुल गफूर र मुहम्मद शकूरसहित चार दाजुभाइले सन् २०१३ मा इलेक्ट्रोनिक्स व्यवसाय सुरु गरेका थिए।

नेपालमा उनीहरूको आगमन व्यवसायिक गतिविधिसँग पनि जोडिएको देखिन्छ। जमजमको नेपालका लागि सञ्चालन गरिएको आधिकारिक वेबसाइटमा उनीहरूको ZamZam Perfumes ब्रान्ड नेपालमा ल्याइएको र नेपाली बजारमा बिक्री तथा प्रवर्द्धन भइरहेको उल्लेख छ। वेबसाइटले यसलाई जमजम ब्रदर्सको विश्वव्यापी परफ्युम लन्चसँग जोडेको छ। उनीहरू काठमाडौंको सिभिल महल पुग्दा समर्थक तथा शुभेच्छुकहरू उनीहरूलाई भेट्न र तस्वीर खिच्न जम्मा भएका थिए। उनीहरूको उपस्थितिसँगै महल परिसरमा चहलपहल बढेको थियो।

जमजम ब्रदर्सको लोकप्रियता मुख्यतः सामाजिक सञ्जालमा प्रकाशित मनोरञ्जनात्मक भिडियो तथा इलेक्ट्रोनिक्स व्यवसायसँग जोडिएको छ। उनीहरूको आधिकारिक च्यानल तथा सामाजिक सञ्जालमा ठूलो संख्यामा फलोअर्स रहेका छन्।

नेपालमा उनीहरूको उपस्थितिले नेपाली दर्शक तथा ग्राहकबीच समेत जमजम ब्रान्डप्रतिको चासो देखाएको छ। विशेषगरी उनीहरूको परफ्युम ब्रान्ड नेपालमा उपलब्ध हुन थालेपछि उनीहरूको नेपाल भ्रमणलाई व्यवसायिक प्रचार–प्रसारसँग जोडेर हेरिएको छ। सिभिल महलमा देखिएको समर्थकहरूको भीडले भने नेपालमा समेत ‘छोटे भाइ–बडे भाइ’को लोकप्रियता बढिरहेको संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय