नेपाली कांग्रेसका सभापति Gagan Thapaले देश चलाउन घृणा र उत्तेजनाको भाषाको प्रयोगले सम्भव नहुने बताएका छन्। आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभामा उनले मुलुक चलाउन मिलाउने “सफ्ट भाषा” प्रयोग गर्ने नेतृत्व आवश्यक रहेको बताए।

सभापति थापाले भने, “देश सम्हाल्न घृणा र उत्तेजनाको भाषा बोल्नेले सक्दैन। मुलुक चलाउन एक्लै सकिँदैन, टिम चाहिन्छ। संसारभर कोलाहल मच्चाउनेहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन्। उनीहरूले घृणाको भाषा बोलिरहेका हुन्छन्। घृणा र उत्तेजनाले मुलुक चल्दैन, मिलाउनुपर्छ।” उनले निर्वाचन प्रचारप्रसारका क्रममा कुनैपनि नेता–कार्यकर्ताले उत्तेजनात्मक वा घोचपेचपूर्ण भाषा प्रयोग नगर्न विशेष अनुरोध पनि गरे। थापाका अनुसार पार्टीको नीति नै चुनावी प्रचारमा घृणा र उत्तेजनाको भाषा प्रयोग नगर्नु हो।

सभापति थापाले स्पष्ट पारे, “मैले साथीहरूलाई भनेको थिए, फेरि पनि भन्छु, प्रचारप्रसारमा उत्तेजनाको भाषा प्रयोग नगरौँ, घोचपेच नगरौँ। प्रचारप्रसारमा आफ्ना एजेन्डा, सिद्धान्त र योजना प्रस्तुत गर्ने हो। हामीले निर्वाचनमा प्रतिज्ञापत्र ल्याएका छौँ, त्यसै बुझाउने प्रयास गर्नुहोस्।” उनले प्रधानमन्त्रीका उम्मेदवारबीच योजना र एजेन्डाबारे बहस हुने अपेक्षा राखेका भए पनि त्यो बहस हुन नसकेको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय