काठमाडौं । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नम्बर–२ मा खटिएका एक मतदान अधिकृतको जिम्मेवारी हटाइएको छ ।

गलकोट नगरपालिका–१० स्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका प्रकाश गैरेलाई निर्वाचन अधिकृतको जिम्मेवारीबाट हटाइएको हो । ढोरपाटन नगरपालिका प्रशासनिक अधिकृत रहेका गैरेले आफ्नो कार्यक्षेत्र अनुसार काम नगरेको र मतदान अधिकृतहरूको व्हाट्सएप समूहमा उनले गरेका केही अभिव्यक्तिहरू तथा गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्न सक्ने देखिएको निर्वाचन अधिकृत भीम प्रसाद सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार, गैरेले मतपत्र र मतदान सामग्रीको जिम्मेवारी तुरुन्त सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन पाएका छन् ।

यो निर्णयबारे निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र सम्बन्धित निकायलाई समेत जानकारी गराइएको छ । गैरेको स्थानमा भुवन बहादुर कुँवरलाई मतदान अधिकृतको रूपमा खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय