बैतडी — बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक कुमार रायका अनुसार सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो। बस बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको अवस्थामा सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली घटनास्थलमा खटिएको डीएसपी रायले बताए। स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूको उद्धार कार्य जारी रहेको छ। प्रहरीका अनुसार, दुर्घटनामा परेर १५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगाइएको छ। अन्य यात्रुको अवस्था र घाइतेको संख्या यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थल दुर्गम भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय