काठमाडौं। महानगरपालिकाभित्र सञ्चालनमा रहेका केही सार्वजनिक सवारी साधन, विशेषगरी “महानगर यातायात” नामधारी बसहरूमा मनपरी भाडा असुली, यात्रुमाथि दुरव्यवहार र असुरक्षाको गम्भीर समस्या देखिएको छ। यात्रुहरूले अनुहार हेरेर भाडा तोक्ने, प्रश्न गर्दा गालीगलौज गर्ने र डर–धम्की दिने प्रवृत्ति बढ्दै गएको गुनासो गरेका छन्।




यात्रुका अनुसार एउटै रुटमा फरक–फरक भाडा असुल्ने, विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुट नदिने जस्ता समस्या नियमित जस्तै भएका छन्। “भाडा किन बढी लिएको भनेर सोध्दा सहचालकले दुर्व्यवहार गरे,” एक यात्रुले बताए।
साँझपख सार्वजनिक सवारीमा पाकेटमारी र चोरीका घटना पनि बढ्दै गएको यात्रुहरूको भनाइ छ। चोरी भएको थाहा पाएपछि विरोध गर्न खोज्दा उल्टै धम्की दिने समूह सक्रिय रहेको गुनासो छ। यसले यात्रुहरूमा थप त्रास पैदा गरेको छ।

महानगरपालिकाले यसअघि यात्रुबाहक सवारीमा जीपीएस जडान गरी अनुगमन गर्ने घोषणा गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन देखिएको छैन। ट्राफिक प्रहरी सडकमा खटिए पनि बढी भाडा असुलीबारे गुनासो आउँदा तत्काल कारबाही नहुने यात्रुहरूको आरोप छ।
सार्वजनिक यातायातमा लागू पदार्थ सेवन गरी सहचालकले दुरव्यवहार गर्ने घटनासमेत बेला–बेला बाहिरिँदा पनि सम्बन्धित निकायले कडा कदम नचालेको भन्दै सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन्।
यातायात व्यवस्था विभाग, महानगरपालिका र प्रहरी प्रशासनबीच समन्वयको अभाव हुँदा सार्वजनिक यातायातमा अराजकता बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ। सर्वसाधारण यात्रुले तत्काल अनुगमन, कडाइका साथ कारबाही र यात्रु सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्।



