विराटनगर — विराटनगरका प्रतिष्ठित उद्योगी प्रकाश मुन्दडाको घर तथा कार्यालयमा सोमबार बिहान प्रहरीले विशेष खानतलासी गरेको छ। करिब साढे पाँच घण्टासम्म सञ्चालन भएको प्रहरी अपरेसनमा कुनै पनि आपत्तिजनक सामग्री फेला नपरेपछि प्रहरी टोली रित्तै हात फर्किएको छ।
मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्षसमेत रहेका मुन्दडाको विराटनगर महानगरपालिका–७ स्थित निवास र कार्यालयमा बिहान करिब ४ बजेदेखि प्रहरीको टोली पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर तथा इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। अपरेसनमा एक दर्जनभन्दा बढी प्रहरीका सवारीसाधन प्रयोग गरिएको थियो भने नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गरेका थिए।



प्रहरीले बिहान करिब ९ः३० बजेसम्म घर, कार्यालय तथा परिसरका सबै भागमा सूक्ष्म रूपमा खानतलासी गरेको थियो। खोजतलासका क्रममा घर आसपासको आवतजावत केही समयका लागि रोकिएको थियो। जिल्ला प्रशासन कार्यालय मोरङ र गोल्छा मोडतर्फ जाने सडकमा समेत केही समय सवारी आवागमन प्रभावित भएको थियो। एसपी कवित कटवालका अनुसार विशेष सूचनाका आधारमा मुन्दडाले अवैध रूपमा ठूलो परिमाणमा नगद लुकाएर राखेको आशंकामा खानतलासी गरिएको हो। तर लामो समयसम्म गरिएको खोजतलासका क्रममा कुनै नगद, कागजात वा अन्य आपत्तिजनक सामग्री फेला नपरेको उनले बताए।
उनले भने, “विशेष सूचनाका आधारमा घर र कार्यालयमा विस्तृत खानतलासी गरेका थियौं। तर कुनै पनि प्रमाण वा सामग्री फेला परेन। त्यसपछि प्रहरी टोली फर्किएको हो। कहिलेकाहीँ प्राप्त सूचना पूर्ण रूपमा सही नहुन पनि सक्छ।” प्रहरीले खानतलासीका क्रममा कुनै व्यक्ति पक्राउ नगरेको तथा कुनै सामग्री नियन्त्रणमा नलिएको जनाएको छ। यससँगै प्रारम्भिक सूचनाको विश्वसनीयतामाथि पनि प्रश्न उठ्न थालेको छ।
घटनापछि विराटनगरको उद्योग तथा व्यापारिक क्षेत्रमा यस विषयले व्यापक चर्चा पाएको छ। यति ठूलो संख्यामा प्रहरी परिचालन गरेर सञ्चालन गरिएको अपरेसनबाट कुनै उपलब्धि हासिल नभएपछि अनुसन्धानको आधार र सूचनाको स्रोतबारे विभिन्न टिकाटिप्पणी हुन थालेका छन्। यसैबीच, केही व्यवसायीहरूले मुन्दडाको व्यावसायिक कारोबार, विशेषगरी चाँदी कारोबारसँग सम्बन्धित विषय अनुसन्धानको दायरामा पर्न सक्ने अनुमान गरेका छन्। प्रहरी स्रोतका अनुसार विशेष सूचनाका आधारमा मात्र अपरेसन सञ्चालन गरिएको हो। यद्यपि, प्रहरीले अनुसन्धानको विषय वा सूचनाको स्रोतबारे थप विवरण सार्वजनिक गरेको छैन।
प्रकाश मुन्दडाको नाम विगतमा हुण्डी कारोबार, कर छली तथा अन्य आर्थिक गतिविधिसँग जोडिएर सार्वजनिक चर्चामा आउने गरेको भए पनि ती आरोपहरू कुनै पनि सरकारी निकायबाट प्रमाणित भएका छैनन्। त्यसैगरी, उनी कुनै राजनीतिक दलसँग निकट रहेको वा निर्वाचनमा आर्थिक सहयोग गरेको भन्ने दाबीसमेत आधिकारिक रूपमा पुष्टि भएको छैन। यस विषयमा प्रतिक्रिया लिन मुन्दडासँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आउन सकेनन्। प्रहरीले भने अनुसन्धानका क्रममा प्राप्त हुने नयाँ सूचनाका आधारमा आवश्यक परे थप अनुसन्धान अघि बढाइने जनाएको छ।



