परम्परागत अन्नबालीबाट राम्रो आम्दानी हुन छाडेपछि तेह्रथुमका किसान अकबरे खुर्सानी खेतीतर्फ आकर्षित हुन थालेका छन्। वर्षमा एक पटक मात्र उत्पादन हुने अन्नबालीले अपेक्षित आम्दानी नदिएपछि किसानहरू व्यावसायिक रूपमा अकबरे खेतीतर्फ लागेका हुन्।कडा मेहनतका बाबजुद अन्नबालीबाट ज्याला पनि नउठ्ने अवस्थाले किसानले वैकल्पिक नगदेबाली रोज्न थालेका छन्। जिल्लाको छथर गाउँपालिकाका धेरै किसान अहिले अकबरे खेतीमा होमिएका छन्।गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भएपछि कृषिजन्य सामग्री ढुवानीमा सहजता आएको छ। यससँगै बजारमा राम्रो मूल्य पाउने भएपछि किसान नगदेबाली अकबरे खुर्सानीतर्फ आकर्षित भएको छथर–२ का किसान केचबहादुर लिम्बु बताउनुहुन्छ।
उत्पादन र बजार दुवै राम्रो भएकाले खरिदका लागि व्यापारीहरू गाउँमै आइपुग्ने गरेका छन्। हाल प्रतिकिलो अकबरे खुर्सानी २ सय पचासदेखि ३ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ।परम्परागत रूपमा अन्नबाली गर्दै आएका किसानलाई वन्यजन्तुको हैरानीले पनि सताउने गरेको छ। विकल्प राम्रो र बजार भएकाले आफूले अकबरे खेती रोजेको अर्का किसान लालबहादुर लिम्बु बताउनुहुन्छ।



तेह्रथुममा उत्पादन भएको अकबरे खुर्सानी स्थानीय बजारसँगै पूर्वी तराईका विभिन्न सहरहरूमा समेत निर्यात हुँदै आएको छ। अहिले यहाँका किसानले १ रोपनीदेखि १० रोपनीसम्म क्षेत्रफलमा अकबरे खेती गर्दै आएका छन्। यहाँ उत्पादन भएको अकबरे स्थानीय बजारका साथै पुर्वी तराईका शहरहरुमा निर्यात हुँदै आएको छ ।



