वीरगञ्ज — पर्सामा नेपाल प्रहरीका एक इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित आठ जना क्यासिनोबाट पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामक क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव पनि छन्।

प्रहरीका अनुसार क्यासिनोबाट पक्राउ पर्ने अन्य व्यक्तिमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्।यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएको आरोपमा क्यासिनोका चार जना कर्मचारीसमेत पक्राउ परेका छन्। पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।

प्रहरीले क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने गतिविधिबारे सूचना पाएपछि कारबाही अघि बढाएको जनाएको छ। घटनामा पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरी संगठनमै कार्यरत इन्स्पेक्टरदेखि स्थानीय तहका निर्वाचित अध्यक्षसम्म पक्राउ परेपछि पर्सामा चर्चा चुलिएको छ। विशेषगरी सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरू क्यासिनोमा पुगेको विषयले उनीहरूको आचरण र कानुनको पालना सम्बन्धी प्रश्नसमेत उठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय