काठमाडौं । गाडीको लस्कर, चर्को नाराबाजी, कान ठाडो पार्ने गीत–संगीत र विपक्षीविरुद्ध उग्र अभिव्यक्ति— चुनावी मैदानमा प्रायः देखिने दृश्य यही हो । तर काठमाडौं क्षेत्र नम्बर ५मा भने फरक दृश्य देखियो ।
गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) की उम्मेदवार निशा अधिकारी सानो समूहका समर्थकसहित शालीन ढंगले घरदैलोमा निस्किएकी थिइन् । बालुवाटारस्थित आफ्नै घरअगाडि १५÷२० जना समर्थक जम्मा भएका थिए । दुई दिनको सार्वजनिक बिदापछि अफिस खुल्ने दिन भएकाले उनी अफिस टाइमअघि नै मतदातासम्म पुग्न हतारिएकी थिइन् ।
माइकमा गुञ्जिएका नारासँगै पसलतिरका मानिसहरू बाटोतिर हेर्न थाले । अभिनेत्रीका रूपमा चिन्नेहरूले मोबाइल तेस्र्याउँदै फोटो–भिडिओ खिचे । झ्यालबाट चिहाउनेको पनि कमी थिएन ।
बालुवाटारबाट सुरु भएको अभियान चण्डोल–४ रुट हुँदै अघि बढ्यो । बाटोमा भेटिनेलाई नमस्कार गर्दै उनले नम्रतापूर्वक आग्रह गरिरहेकी थिइन् — “यसपालि ब्याट्रीलाई भोट है।”
पसल–पसल पुगेर उनले चुनावी एजेन्डासहितको पर्चा बाँडिन् । खुलेका जति कुनै पनि पसल छुटेनन् । घरघर पुग्न सम्भव नभए पनि हरेक गेटमा एजेन्डा छोडिन् । बालुवाटारमै जन्मिएर हुर्किएकी निशाले धेरै अनुहार चिनेकी थिइन् । “यसपालि भोट मलाई,” उनी साइनो लगाएर हकपूर्वक भन्दै थिइन् ।



जाम हटाउँदै उम्मेदवार
बिहान ९ बज्दै गर्दा अफिस जानेहरूको भिड बढ्यो । प्रचार टोलीका कारण केहीबेर जामको स्थिति बन्यो । तर निशाले नै समर्थक र गाडी साइड लगाउँदै रोकिने सवारीलाई अघि बढ्न संकेत गरिन् ।
“अरु दिन हामी ४÷५ जना मात्रै हिँडिरहेका हुन्छौ ँ। आजै हो यति धेरै। आफ्नो कारण जनतालाई दुःख हुँदा गिल्टी फिल हुन्छ,” उनले भनिन् ।
एजेन्डा केन्द्रमा
न ठूलो भिड, न तडकभडक । साढे दुई घण्टामा घरदैलो टुंगियो । न विपक्षीविरुद्ध आक्रामक अभिव्यक्ति, न चिप्ला भाषण ।
राजनीतिमा आउनुअघि उनले अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिशास्त्रमा स्नातक तथा राजनीतिशास्त्रमै स्नातकोत्तर गरेकी छन् । हाल द्वन्द्व, शान्ति र विकास विषयमा एमफिल गरिरहेकी छिन् ।
फिल्म क्षेत्रमा ‘मिसन पैसा’, ‘फस्ट लभ’ र ‘सुनगाभा’ जस्ता चलचित्रमा अभिनय गरेकी उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली अभिनेत्रीसमेत हुन् ।पछिल्लो समय विभिन्न पार्टीबाट प्रस्ताव आए पनि उनले गतिलो रोजेको बताउँछिन् ।
उनको चुनावी एजेन्डामा सडक र पूर्वाधार, जनस्वास्थ्य, रोजगारी, उद्यमशीलता, खेलकुद, संस्कृति, ज्येष्ठ नागरिक सम्मान र महिलाको अर्थपूर्ण सहभागिताजस्ता विषय छन् ।
प्रतिस्पर्धा बलियो, आत्मविश्वास उच्च
यस क्षेत्रमा प्रदीप पौडेल (कांग्रेस), ईश्वर पोखरेल (एमाले), कमल थापा (राप्रपा) र सस्मित पोखरेल (रास्वपा) जस्ता बलिया उम्मेदवारसँग उनको प्रतिस्पर्धा छ । तर उनी भन्छिन्, “व्यक्तिभन्दा मुद्दा ठूलो हो । युवाहरू आउनुपर्ने ठाउँमा पुरानै अनुहार दोहोरिनु उचित होइन ।” समानुपातिक कोटामा नजाने प्रतिबद्धता जनाउँदै उनी प्रत्यक्ष निर्वाचनमार्फत सदन पुग्ने लक्ष्यमा छिन् ।
अन्त्यमा उनी मतदातालाई अपिल गर्छिन् — “निशा अधिकारीलाई होइन, विकल्पलाई जिताउनुस् । महिलालाई नेतृत्वमा आउन भन्न सजिलो छ, साथ दिन गाह्रो । यस्तो बेला साथ नदिनु भयो भने हामी चुक्छौँ ।”



