पश्चिम एसिया अहिले इतिहासकै सबैभन्दा संवेदनशील र खतरनाक मोडमा आइपुगेको छ। इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि सुरू भएको प्रत्यक्ष टकराव अहिले क्षेत्रीय युद्धमा परिणत भएको छ । यस द्वन्द्वले विश्वको आर्थिक र सुरक्षा सन्तुलन नै खल्बलाइदिएको छ ।पश्चिम एसिया युद्ध चौथो हप्तामा प्रवेश गरेको छ । युद्धमा हुने मानविय र आर्थिक क्षति डरलाग्दो छ । यो युद्धका क्रममा अहिलेसम्म करिब ३२ सय नागरिकको ज्यान गइसकेको छ । तिमध्ये झण्डै आधा सर्वसाधारण र २१० बालबालिका छन् । युद्धमा भएको आर्थिक क्षति अहिले अनुमानभन्दा बाहिर छ । इरानमाथि अमेरिका र इजरायलले नेतृत्व सिध्याउने रणनीति अपनाएका छन् ।
‘डिकापिटेशन’ रणनीति
यो युद्धको सबैभन्दा डरलाग्दो पक्ष भनेको अमेरिका र इजरायलले अपनाएको ‘नेतृत्व तहलाई सिध्याउने’ ‘डिकापिटेशन’ रणनीति रणनीति हो । सर्वोच्च नेता आयतोल्लाह अली खामेनी, सुरक्षा रणनीतिकार अली लारीजानी र सेनाका उच्च कमाण्डरहरूको शृङ्खलाबद्ध अन्त्यले इरानको परम्परागत ‘चेन अफ कमाण्ड’ क्षत-विक्षत भएको छ । कुनै पनि राष्ट्रका लागि आफ्नो सम्पूर्ण शीर्ष नेतृत्व एकै महिनाभित्र गुमाउनु गम्भीर मनोवैज्ञानिक पराजय पनि हो ।



इजरायल र अमेरिकाको ‘महँगो’ सुरक्षा
सैन्य रूपमा अमेरिका र इजरायल हाबी देखिए पनि उनीहरूले चुकाउनुपरेको मूल्य कम छैन । इरानको ‘स्याचुरेसन अट्याक’ एकैसाथ सयौँ मिसाइल प्रहार गर्ने शैलीले इजरायलको ‘आइरन डोम’ र अमेरिकाको ‘प्याट्रियट’ प्रणालीको सीमालाई चुनौती दिएको छ। इराकको ऐन अल-असद र साउदीको प्रिन्स सुल्तान एयरबेसमा भएको क्षतिले अत्याधुनिक प्रविधिका बाबजुद पनि अमेरिकी अखडाहरू पूर्णतः सुरक्षित छैनन् भन्ने प्रमाणित गरेको छ । युद्धमा अमेरिका र इजरायलले दैनिक अरबौँ डलर खर्च गरिरहेका छन् । यो लम्बिँदै जाँदा दुबै देशलाई निकै महंगो पर्नेछ ।
आर्थिक युद्धको विश्वव्यापी राप
यो केवल मिसाइल र ड्रोनको मात्र होइन आर्थिक युद्धमा परिणत भएको छ। हर्मुज जल डमरूमा सिर्जित अवरोधले कच्चा तेलको मूल्य आकासिएको छ । यसको सिधा असर नेपाल जस्ता आयातमा निर्भर देशको भान्सा र ढुवानीमा समेत पर्न थालेको छ ।
विश्वव्यापी आपूर्ति शृङ्खला खल्बलिएको छ । लाल सागर र पर्सियन खाडीको असुरक्षाले विश्व व्यापारको लागत बढेको छ, जसले गर्दा सन् २०२६ को मध्यसम्म विश्वव्यापी मुद्रास्फीति अझै बढ्ने देखिन्छ ।
प्रोक्सी समूहहरूको भविष्य
इरानले वर्षौँदेखि लगानी गरेका हिजबुल्लाह, हमास र हूथी जस्ता समूह अहिले आफ्ना मुख्य संचालकको अभावमा अलमलमा देखिन्छन् । तर, नेतृत्वविहीन हुँदा यी समूह अझै बढी आक्रामक र अनियन्त्रित हुने खतरा पनि छ, जसले पश्चिम एसियामा दीर्घकालीन ‘अराजकता’ निम्त्याउन सक्छ । भने इजरायललाई घेराबन्दीमा पार्न गठन गरिएका यस्ता प्रोक्सी समूह अहिलेका लागि भने निकै कमजोर भएका छन् । इजरायलले इरानसँगै प्रोक्सी समूहलाई लक्षित गर्दै आक्रमण पनि जारी राखेको छ ।
कहिले सकिन्छ युद्ध ?
पश्चिम एसियाको यो युद्धले पुरानो शक्ति सन्तुलन भत्काइदिएको छ। इरानको नेतृत्व तहको अन्त्यले त्यहाँको शासन व्यवस्थामै ठूलो परिवर्तन आउने संकेत देखिएको छैन । तर, त्यसले सिर्जना गर्ने शक्ति शून्यताले पश्चिम एसियालाई अझै अस्थिर बनाउन सक्छ । शक्ति राष्ट्रहरूले केवल सैन्य विजयको खोजी गर्ने कि मानवीय र आर्थिक संकट रोक्न कुटनीतिक पहल गर्ने ? अहिले विश्वभर यस्तै प्रश्न उठिरहेको छ । दुबै पक्ष वार्तामा बस्न राजी देखिएका छैनन् । अमेरिका र इजरायल इरानलाई सैन्य र आर्थिक रूपमा एकदमै कमजोर बनाएपछि मात्रै युद्ध रोक्ने रणनीतिमा लागेका छन् । इरान पनि तत्काल हार मान्ने पक्षमा देखिएको छैन । त्यसैले यो युद्ध अझै केही साता लम्बिने देखिएको छ ।



