आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने बताउनु भयो । पेट्रोलियम पदार्थको अनावश्यक रूपमा भण्डारण गर्दा हुनसक्ने सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको पनि जानकारी गराउनु भयो ।
सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमको आग्रह छ । पेट्रोल पम्पहरूमा देखिएको लाइन तेलको कमीले नभई उपभोक्तामा फैलिएको अनावश्यक त्रास र सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण हल्लाका कारण सिर्जना भएको निगमले जनाएको छ । सामान्य अवस्थामा थोरै परिमाणमा तेल हाल्ने उपभोक्ताहरूले एकै पटक धेरै रकमको तेल सञ्चय गर्न खोज्दा र ट्याङ्की भर्न समय लागेकोले पम्पमा चाप बढेको निगमको भनाइ छ । देशभर दैनिक २ देखि २ हजार ५ सय किलोलिटर पेट्रोल र ४ देखि ४ हजार ५ सय किलोलिटर डिजेल खपत हुने गरेको निगमले बताउँदै आएको छ । हाल बजारको मागभन्दा बढी नै पेट्रोलियम पदार्थ आपूर्ति गरिरहेको निगमको दाबी छ ।






