उमेर हदका कारण अनिवार्य अवकाशप्राप्त सप्तरीका एक शिक्षकले समयमै सेवा निवृत्तभरण (पेन्सन) सिफारिस नपाउँदा आर्थिक तथा पारिवारिक समस्या भोग्नुपरेको गुनासो गरेका छन्।
सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित जनता माध्यमिक विद्यालय, कनकट्टामा प्राथमिक तह द्वितीय शिक्षकका रूपमा कार्यरत बलराम यादव २०८२ साउन २५ गते अनिवार्य अवकाशमा परेका हुन्। उनले २०४८ मंसिर १८ गते अस्थायी शिक्षकका रूपमा सेवा सुरु गरेका थिए। पछि २०६३ कात्तिक २६ गते स्थायी नियुक्ति पाएका यादव २०७६ मंसिर १८ गते बढुवा भएका थिए।
यादवका अनुसार अवकाश लगत्तै भएको शिक्षक आन्दोलनका कारण शिक्षा विकास तथा समन्वय इकाइ, राजविराजबाट साउन २५ गते नै प्राप्त हुनुपर्ने अवकाशपत्र असोज महिनामा मात्रै हात परेको थियो। त्यसपछि गाउँपालिका र विद्यालयमा आवश्यक कागजात मिलाउन पटक–पटक धाउनुपर्दा पेन्सन प्रक्रिया झन् लम्बिएको उनले बताए।



पेन्सन सिफारिसमा ढिलाइ भएपछि घरको आर्थिक अवस्था कमजोर बन्दै गएको यादवको भनाइ छ। उनले विराटनगरस्थित कर्मचारी सञ्चय कोष कार्यालयबाट सञ्चित रकमबापत करिब ५ लाख २९ हजार रुपैयाँ निकाले पनि हालसम्म पेन्सन सिफारिस नहुँदा नियमित आम्दानीको स्रोत बन्द भएको बताए।कहिले कर्मचारी भेटिँदैन, कहिले समन्वय प्रमुख भेटिँदैन। अहिलेसम्म मैले पाउनुपर्ने पेन्सन सिफारिस हुन सकेको छैन, यादवले गुनासो गरे।
उनका अनुसार घरमा बिरामी बुबाको नियमित उपचारमा खर्च भइरहेको छ भने दुई जना छोराछोरी स्वास्थ्य सहायक ९एचए० अध्ययन गरिरहेकाले उनीहरूको शैक्षिक खर्च व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको छ। समयमै पेन्सन आएको भए निजी विद्यालयमा पढाएर थप आम्दानी गर्ने योजना थियो। तर अहिले पेन्सन नै मेरो लागि टेन्सन बनेको छ,ू उनले दुःखेसो सुनाए ।
शिक्षा विकास तथा समन्वय इकाइ, राजविराजकै एक कर्मचारी स्रोतका अनुसार कार्यालय प्रमुख शशी यादव विगत तीन वर्षको कार्यकालमा जिल्ला बाहिर वा अन्य काममा खटिँदा पनि कार्यालयमा निमित्तको जिम्मेवारी नतोक्ने गरिएको आरोप छ। स्रोतका अनुसार प्रमुख अधिकांश समय कार्यालयमा अनुपस्थित रहने गरेका कारण सेवाग्राहीले समयमै सेवा नपाउने र कार्यालयका नियमित कामसमेत प्रभावित हुने गरेका छन्।भने अर्कोतर्फ कार्यालय सहयोगी मुकेश यादबलाई कार्यालय प्रमुख बाहिर जादाँ उहाँले नै सबथोक हेर्ने गरेको कर्मचारी स्रोतले बताईरहँदा उक्त कार्यालय मस्त निन्द्रामा सुतिरहेको अबस्थामा फेला परेका छन् । यस विषयमा प्रतिक्रिया लिन शिक्षा विकास तथा समन्वय इकाइ, राजविराजका प्रमुख शशी यादवसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनको प्रतिक्रिया प्राप्त हुन सकेन।



