काठमाडौं — सर्वोच्च अदालतले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा नष्ट भएको मिसिल झिक्न आदेश दिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’ राखिएको मुद्दाको मिसिल भदौ २४ को आगजनीमा नष्ट भएकोले पुनः झिक्न आदेश दिएको हो।
नष्ट भएको मिसिल पुनः प्राप्त भएपछि अदालतले सुनुवाइका लागि नयाँ पेसी तोक्नेछ। यो मुद्दा पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन पुल निर्माण गरेको आरोपमा विशेष अदालतमा दायर भएको थियो। विशेष अदालतले हरिनारायण र उनका छोरा सुमित रौनियार (पप्पु) लाई दोषी ठहर गर्दै जनही साढे तीन करोड रुपैयाँ जरिवाना सुनाएको थियो। दोषी ठहर भइसकेपछि दुवै पक्षले फरक–फरक मितिमा पुनरावेदन गर्दै सर्वोच्चमा मुद्दा पुगेका थिए।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ११ जनालाई प्रतिवादी बनाएर विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन दायर गरेको थियो। दुवै पक्षको पुनरावेदनलाई एउटै सिलसिलामा राखेर सर्वोच्चले सुनुवाइ गर्दै आएको छ। यस आदेशपछि अब अदालतले मिसिल प्राप्त भएपछि पुनः सुनुवाइ गर्दै निष्पक्ष फैसला सुनाउने प्रक्रिया अघि बढाउनेछ।



