झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाहले चुनावी बाचापत्र सार्वजनिक गर्नु भएको छ । रास्वापाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदार शाहले अघि सारेको बाचा पत्रमा मुख्य गरी संंघीय संसद्मा कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनसम्मका एजेन्डाहरू समेटिएका छन्। भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको एक सय दिनमा आयोग गठन गरी एक हजार दिनमा समाधान गर्ने नीति अपनाउने संकल्प गएिको छ ।
प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएका बालेनको बाचापत्रमा दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइने जनाइएको छ । भ्रष्टाचार र बेथिति विरुद्ध संसद्को अग्रपङ्क्तिमा उभिएर खबरदारी गर्ने अठोट व्यक्त गरिएको छ। बाचापत्रमा राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने र विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिने उल्लेख छ । ‘शिक्षामा सीप’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।



यस्तै, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालयको स्थापना गर्दै स्कुल रिटेन्सन कार्यक्रम मार्फत विद्यालय छाड्ने दरलाई शून्यमा झार्ने योजना उल्लेख छ। गौरीगञ्जको ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई डिजिटल अनुसन्धान केन्द्र बनाउने, कमलमा कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने र दमकको बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने बाचा पत्रमा उल्लेख छ। दमक(१० मा रहेको साइन्स पार्कलाई थप व्यवस्थित बनाउने जनाइएको छ । बाचा पत्रमा झापा(५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।



