काठमाडौं । नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका प्रतिबन्धित मुङ्ग्री जातका करिब १ सय केजी माछा बरामद गरी नष्ट गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले यहाँस्थित गोलबजार–धनगढी सीमा क्षेत्रको गागन खोलाबाट बिहीबार उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारले माछासहित एउटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ । बरामद गरिएको माछा गोलबजार–८ चोहर्वाका राजा सहनीको भएको प्रहरी निरीक्षक सुदन केसीले बताउनु भयो । सहनीले दैनिक भारतबाट मुङ्ग्री तथा जलकपुर जातका माछा ल्याई लहान, धनगढी, गोलबजार, मिर्चैया, विष्णुपुर र सिरहा सदरमुकामका व्यापारीलाई आपूर्ति गर्दै आएको स्थानीय बताउँछन् ।

मुङ्ग्री माछा मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुने भएकाले सरकारले प्रतिबन्धित लगाएको छ । अस्वस्थकर वातावरणमा हुर्काइने, रसायनको प्रयोग हुने सम्भावना बढी रहने र यसले स्थानीय वातावरण तथा जलचर प्रणालीमा नकारात्मक असर पार्ने भएकाले नेपालमा यसमाथि प्रतिबन्ध लगाइएको छ ।

बरामद गरिएको माछा इलाका प्रहरी कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय