काठमाडौं । काठमाडौं उपत्यकास्तरीय स्थानीय तह उपप्रमुख-उपाध्यक्ष संजालको सातौं बैठक सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१३ मा आयोजना भएको बैठकमा स्थानीय तहको राजश्व व्यवस्थापन, स्थानीय करको विषयमा छलफल भएको थियो ।

बैठकमा नेपाल सरकारका पूर्वसचिव डा. गोपिकृष्ण खनालले कर छुट दिने विषय नभई करलाई कसरी लगाउने भन्ने विषय महत्वपूर्ण भएको बताउनु भयो । उहाँले जनतालाई ढाड भाँचिने गरेर कर लगाउँदा व्यापार व्यवसाय बन्द हुने, कर छल्नेलगायतको गतिविधि हुनाले फुल पनि नमर्ने, रस पनि निस्कने गरी मौरीले फुलको रस निकालेझै गरी निकाल्नु पर्ने बताउनु भयो । डा. खनालले करको दर रेट कम गरी बढी भन्दा बढी व्यवसाय, व्यक्तिलाई करको दायरामा ल्याउनु पर्ने उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रको माध्यमलाई सच्याउने प्रमुख माध्यम नै कर भएकोले आवश्यकता अनुसार सभाबाट करको दररेट परिवर्तन गर्नुपर्ने र करबाटै राज्य तथा प्रशासनिक खर्च चलाउनु पर्ने हुँदा सबै स्थानीय निकायको करको दररेट अत्याधिक भएकोले लक्ष्यअनुसार कर उठ्न नसकेको दाबी गर्नुभयो । डा. खनालले देशका जनता सम्पत्तिमा धनी भएपनि आयमा गरिब भएको तर, अधिकांश स्थानीय निकायले सर्वेक्षण नै नगरी हचुवाको भरमा राजश्व संकलनको प्रक्षेपण गर्दा सधै अप्ठ्यारोमा पर्ने बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले आफुहरुले पाँच वर्षअघि सबै पालिका एकै भएर अघि बढ्ने उद्देश्यले यो फोरमको गठन गरेको स्मरण गर्नुभयो । उहाँले करको विषयमा सबै स्थानीय निकायमा समस्या रहेकोले कर प्रणालीमा सबै पालिका एकमत भएर अघि बढ्नमा यो बैठकले महत्वपूर्ण भूमिका खेल्नेमा आफु आशावादी रहेको बताउनु भयो । प्रमुख गिरीले आफु मेयर फोरमको महासचिव भएको हैसियतले बैठकमा उठेका विषय बस्तुलाई समावेश गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले स्थानीय निकायमा फरक फरक करको दायरा हुँदा समस्या परेको बताउँदै सबै स्थानीय निकायमा एउटै करको दायरा बनाउनु पर्ने बताउनु भयो । उहाँले राजश्व उठाउने दायित्व उपमेयरको मात्र नभई पालिकाकै भएकोले नगरप्रमुख, कर्मचारीलगायतको पनि जिम्मेवारी भएकाले साथ र सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले मेयर फोरमा पनि नगरको करको विषयले प्राथमिकता पाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा आयोजक एवम् चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले नगरले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले खर्चलाई मितव्यायीता गर्न र स्थानीय उत्पादनलाई बढावा दिन नगरले राखेको हरेक कार्यक्रममा स्थानीय उत्पादन नै प्रयोग गर्ने गरेको उल्लेख गर्नुभयो । बैठकमा संजालले गरेको निर्णय प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय