नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण कार्य करिब ९० प्रतिशत पूरा भएको छ।सुरुङ, बाँध र विद्युत्गृहका संरचनात्मक कामसँगै उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजनाले अहिले केन्द्रीय विद्युत् प्रणालीमा जोड्न आवश्यक स्वीचयार्ड निर्माणलाई तीव्रता दिएको छ। आयोजनाका व्यवस्थापक राज विष्टका अनुसार आगामी मार्च महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यका साथ बाँकी कामलाई अन्तिम रूप दिइँदैछ।

उनका अनुसार सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका कामहरू लगभग सकिन लागेको छ। “२० मेगावाट क्षमताको टर्बाइन जडान गरी ड्राई टेस्टिङका लागि तयारी पूरा गरेका छौँ,” उनले बताए। ठेकेदार कम्पनीहरू परीक्षण उत्पादन समयमै सुरु गर्ने गरी परिचालन भएका छन्। आयोजनाको सिभिल निर्माणको ठेक्का भारतीय कम्पनी जयप्रकाश एसोसियट्स ९जेपी० ले सन् २०१७ नोभेम्बरमा करिब ६ अर्ब रुपैयाँमा ४५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित लिएको थियो। निर्माण अवधि विभिन्न कारणले लम्बिँदै पहिलो र दोस्रो पटक सन् २०२२ फेब्रुअरीमा, तेस्रो पटक सन् २०२५ नोभेम्बरसम्म र पछिल्लो पटक आगामी मार्चसम्म म्याद थप गरिएको छ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदी क्षेत्रमा बाँध, करिब ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। निर्माणमा ढिलाइ हुनुका कारण कोरोना महामारी, बाढीपहिरो जस्ता प्राकृतिक विपद् तथा नदीजन्य सामग्रीको अभाव रहेको जेपी कम्पनीका आयोजना व्यवस्थापक हरिश अग्रवालले जानकारी दिए।

इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड ९भेल० सँग विसं २०७६ कात्तिकमा करिब १ करोड २ लाख ९३ हजार अमेरिकी डलरमा सम्झौता गरिएको थियो, जसको म्याद यही डिसेम्बर ३१ मा सकिँदैछ। भेलले अधिकांश उपकरण आयात गरिसकेको र जडान कार्य जारी रहेको जनाइएको छ। आयोजना भारतीय आयात–निर्यात बैंक ९एक्जिम बैंक० को ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन ९ईपीसी० मोडलमा सञ्चालन भइरहेको छ।

आर्थिक समस्याका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको सम्झौता तोडेर नयाँ प्रक्रियाबाट आयोजना अघि बढाइएको थियो। हालको ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्ने काम सुरु गरेको थियो। राहुघाट आयोजनाले वार्षिक करिब २४ करोड ५ लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता ९पीपीए० गरिसकेको छ। उत्पादन हुने विद्युत् कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ। यसका लागि आवश्यक चार वटा टावर तथा प्रसारण लाइन निर्माणसमेत सम्पन्न भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय