आज आठौँ स्वास्थ्य बीमा दिवस विभिन्न कार्यक्रमका साथ मनाइदैछ । ’तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, स्वास्थ्य मन्त्री उपेन्द्र यादवलगायतले शुभकामना व्यक्त गरी सेवा विस्तार र थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन ।

नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको हो । स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ । अन्तिम स्थानीय तहको रुपमा पालिकाको रुपमा काठमाण्डौको बुढानिलकण्ठमा सेवा विस्तारको शुरुवात हुन लागेको बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म ७७ लाख ७१ हजारभन्दा धेरै नागरिक आबद्ध भएका छन् ।

३५ दशमलव ८८ प्रतिशत घरपरिवार अनि २६ दशमलव ५४ प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुगेको बोर्डको तथ्यांक छ । बीमा नवीकरण गर्ने झण्डै ७० प्रतिशत रहेका छन् । बोर्डले नयाँ व्यवस्थाअनुसार माघ १ गतेदेखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने व्यवस्था गरेको छ । बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाउनेछन ।

पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले थप दुईसय बुझाउनुपर्ने व्यवस्था छ । सरकारले१० वर्ष अर्थात् २०९० सालसम्ममा स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकलाई सहभागी गराउने उद्देश्य राखेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय