कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका भरत चौधरीको शव आफन्तले बुझेका छन् । धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय चौधरीको शव चार दिनपछि आफन्तले बुझेका हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलमा उनीहरूले माग सम्बोधन भएपछि मात्रै शव बुझ्ने बताएका थिए । मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू उनीहरूले प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई सुनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी हमाल माग सम्बोधन गर्न तयार भएपछि आफूहरूले शव बुझेको मृतकका भाइ विजय चौधरीले बताए । छलफल पछि जिल्ला प्रहरी कार्यालयका मृतकका परिवारले जाहेरी समेत दिएका छन् । उक्त जाहेरी दर्ता भएर अनुसन्धान अघि बढिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले बताए । जाहेरी दर्ता पछि मृतकका आफन्तहरू शव बुझ्न तयार भएका हुन् । लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको कारागारभित्रै कैदीबन्दी समूहबिच झडपमा हत्या मृत्यु भएको थियो । कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि साङ्घातिक आक्रमण गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय