अविरल वर्षाले कञ्चनपुरका विभिन्न बस्ती डुबानमा परेका छन्। डुबानका कारण दोधारा चाँदनी र भीमदत्त नगरपालिका ४५ परिवार प्रभावित भएका छन्। दोधारा चाँदनी नगरपालिका– ८ रामपुरे टापु र जर्गा टोलमा जोगबुढा नदीको पानी पसेपछि २५ परिवारका ७० जना प्रभावित भएका छन् । उनीहरुलाई उद्धार गरेर जनज्योति माध्यमिक विद्यालयमा सारिएको छ ।
जोगबुढा नदीको डुबानले दोधारा चाँदनी–३ पटराखल्लामा पनि जनजीवन प्रभावित बनेकोे छ । जोगबुढा नदी पस्दा पटराखल्लाका १५ परिवारका ५५ जना विस्थापित भएका छन् । उनीहरुलाई सर–समान र चौपाया सहित जमुना आधारभूत विद्यालय जमुनाघाडीमा सारिएको छ । त्यस्तै, भीमदत्त नगरपालिका–१० भुजेलास्थित सेन्सोरियल स्कुल डुवानमा परेको छ ।



डुबानमा परेका भीमदत्त नगरपालिका–११ चौकीसत्ताका ५ परिवारलाई सुरक्षित स्थानमा सारिएको । स्थानीय सेते लुहार, बसन्ती लुहार, गजीराम पोखरेल, मदन सिह भण्डारी र भिम बहादुर लुहारको घर डुबानमा परेको हो। घरको सरसामानसहित उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।यसैगरी, दोधारा चाँदनी १० शान्ति टोलका डुबान प्रभावित १२ घरपरिवारका ४० जनालाई उद्धार गरिएको छ । उनीहरुलाई दोधारा चाँदनी–९ स्थित अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ।यता महाकाली नदीमा पानीको बहाब बढ्दो क्रममा छ । महाकाली नदीमा पानीको बहाब बढेपछि बनबासा पुलमा चार पाङ्ग्रे र तीन पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ। पछिल्लो अपडेटअनुसार महाकाली नदीमा पानीको बहाब एक लाख ८२ हजार ५५५ क्युसेक पुगेको छ ।




