काठमाडौं । शिक्षामन्त्री महावीर पुनले प्राध्यापक र शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न रहेको पाइए कारवाही गर्ने चेतावनी दिनुभएको छ । मन्त्री पुनले आज एक विज्ञप्ती जारी गर्दै शिक्षक तथा प्राध्यापकहरु राजनीतिक गतिबिधिमा संलग्न हुँदा शिक्षाको गुणस्तर खस्किएको भन्ने गुनासो आएका कारण त्यसतर्फ ध्यानाकर्षण भएको बताउनु भएको हो । त्यस्तै शिक्षक, प्राध्यापक तथा कर्मचारीका बिभिन्न संघसंगठनहरुलाई शिक्षा मन्त्रालयले मान्यता नदिने भएको छ । मन्त्री पुनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र भएको पाइएमा पदबाट बर्खास्त समेत गर्न सकिनेसम्मको कानुनी व्यवस्था रहेको स्मरण समेत गराउनु भएको हो ।
मन्त्री पुनले त्यस्ता संघ संगठनहरुलाई गैरराजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न समेत आह्वान गर्नुभएको छ । आफ्नो पेशागत कर्तब्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशिलता र विद्यालय र विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरितका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने समेत मन्त्री पुनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।







