काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगित हुँदै आएको यो सिनेमालाई दर्शकले मंसिर १८ गतेबाट हेर्न पाउने भएका हुन् ।
यसैक्रममा निर्माणपक्षले चलचित्रको नयाँ पोस्टरसार्वजनिक गरेको छ । पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन् । कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकार पोस्टरमा अटाएका छन् । कुन कलाकारको यो चलचित्रमा कस्तो लुक्स छ भन्ने यो पोस्टरले प्रष्ट पारेका छ ।



सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ । चलचित्र प्राविधिक र कथानक दुवैमा बलियो रहेको निर्माणपक्षले दाबी गर्दै आएको छ । तराईको सेटअपमा रहेको सिनेमाले तराईको कथा भन्ने संकेत गरेको छ । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।




