मधेस प्रदेश सरकारका नवनियुक्त छैठौं मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार मधेस भवन प्राङ्गणमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवलाई शपथ गराएका हुन्। मुख्यमन्त्री नियुक्तिसँगै सोही समारोहमा मन्त्रिपरिषद् विस्तार पनि गरिएको छ। जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवलाई आर्थिक मामिला मन्त्रीको रूपमा शपथ गराइएको छ। त्यस्तै नेपाली कांग्रेसका जङ्गीलाल राई र नेकपा एसका गणेश पटेलले बिना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरे।



महेश यादव र गणेश पटेल यसअघि पनि जितेन्द्र सोनल नेतृत्वको मन्त्रिपरिषद्मा बिना विभागीय मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। नवनियुक्त तीनै जना मन्त्रीलाई मुख्यमन्त्री यादवको उपस्थितिमा प्रदेश प्रमुख कर्णले आजै शपथ गराएका हुन्। यससँगै यादव नेतृत्वको मन्त्रिपरिषद् चार सदस्यीय बनेको छ र निकट दिनमा थप मन्त्रालयहरूमा जिम्मेवारी बाँडफाँड गरिने अपेक्षा गरिएको छ।




