पश्चिम नवलपरासी – राष्ट्रिय आवास कम्पनीका पुनर्वास प्रमुख महेन्द्र थापामाथि नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल ५ नं. ब्यूरोले कालोमोसो लगाएको छ। संगठनका ५ नं. ब्यूरो संयोजक मिलन थापाले जारी गरेको विज्ञप्तिमा थापाले पुनर्वास परियोजनासम्बन्धी काममा व्यापक अनियमितता, ढिलासुस्ती, घुस–कमिशन, मनपरी निर्णय र जनसरोकारविपरीत काम गरेको आरोप लगाइएको छ।

विज्ञप्तिमा उल्लेख छ कि थापाले स्थानीय स्तरमा बस्ती सार्ने, जग्गा वितरण गर्ने, लाभार्थी पहिचानमा मनपरी, दलालसँग मिलेमतो, र नागरिकले पाउने सेवा अवरुद्ध गर्ने काम गरेको छ। यसले स्थानीय तहमा जनगुनासो बढाएको भन्दै संगठनले ‘जनकारबाही’ गरेको जनाएको छ। थापामाथि ट्रमा सेन्टर निर्माणका लागि बर्दघाट नगरपालिका–२ चिसापानीको जग्गा बेचबिखन गरेको, अख्तियारको दुरुपयोग गर्दै कम्पनीमा श्रीमती र भाउजुलाई जागिर खुवाएको र विभिन्न परियोजनामा रकम उठाउने तथा पीडितको सुनुवाइ नगर्ने जस्ता आरोप पनि लगाइएको छ।

संगठनले आवास कम्पनीका प्रमुख कार्यालयदेखि स्थानीय तहसम्म अवरोध सिर्जना गर्ने अनियमितता अन्त्य गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको जनाएको छ। उनीहरूले यस प्रकरणमा निष्पक्ष छानबिनको माग पनि गरेका छन्। यस घटनाप्रति स्थानीय बासिन्दा र सरोकारवालाले पनि ध्यान दिनुपर्ने चेतावनी संगठनले दिएको छ, जसले पुनर्वास परियोजनामा पारदर्शिता र जिम्मेवारी सुनिश्चित गर्न आवश्यक रहेको देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय