एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा आफ्नो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ ।नेपालले दिएको ८३ रनको सामान्य लक्ष्य श्रीलंकाले १४ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका दिमन्थ महाविथानाले अविजित ३९ रन बनाए । नेपालका दयानन्द मण्डलले १ विकेट लिए । यसअघि यूएईको सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा ८२ रन बनाउँदा सबै विकेट गुमायो ।



नेपालका सब्रिन श्रेष्ठले सबैभन्दा धेरै १८ रन बनाए । यस्तै साहिल पटेलले १२, निरजकुमार यादवले १० रन बनाए । श्रीलङ्काका सेठमिका सेनेविरत्नेले ५ विकेट लिए । नेपालले दोस्रो खेलमा पर्सि मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेलमा पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । हिजो शुरू भएको प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् ।दुवै समूहबाट शीर्ष दुई रहने टोली सेमिफाइनलमा पुग्नेछन । फाइनल खेल आउँदो पुस ६ गते हुनेछ ।




