नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो पटक च्याम्पियन बन्न सफल भयो। टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९।१ ओभरमै मात्र ८५ रनमा समेटियो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिकसहित उत्कृष्ट बलिङ गरेपछि सुदूरपश्चिम दबाबमा परेको थियो। यो एनपीएल इतिहासमा पहिला ब्याटिङ गर्ने टोलीको सबैभन्दा कम स्कोरसमेत बनेको छ।

सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले आक्रामक सुरुआत गर्‍यो। ओपनर दिनेश अधिकारीले पहिलो ओभरमै चार छक्का प्रहार गर्दै खेललाई एकतर्फी बनाइदिए। लुम्बिनीले केवल ९ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित हात पार्‍यो। दिनेश अधिकारीले १३ बलमा ४२ रनको विस्फोटक इनिङ खेले, जसमा ५ छक्का र १ चौका समावेश थियो। डी’आर्सी शटले पनि सुरुआती साझेदारीमा योगदान दिए। कप्तान रोहित पौडेलले १६ रन जोडे भने निरोशान डिकवेला अविजित रहे।

यस जितसँगै लुम्बिनीले लगातार ६ खेल जित्ने कीर्तिमान बनायो, जुन कीर्तिमान सुदूरपश्चिमले यसै सिजनको सुरुआतमा बनाएको थियो। लुम्बिनी लिग चरणको अन्तिम तीन खेल जित्दै प्लेअफ पुगेको थियो र त्यसपछि इलिमिनेटर तथा क्वालिफायर पार गर्दै फाइनलमा स्थान बनाएको थियो। उता सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो वर्ष फाइनलमा पराजित भयो। गत सिजन पनि टोली उपाधिबाट वञ्चित भएको थियो।

एनपीएल सिजन–२ मा लुम्बिनी लायन्सको यो उपाधि जित ऐतिहासिक उपलब्धिका रूपमा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय