राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई–मधेस द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडामा नेपालकै सबैभन्दा अग्लो भूकम्प प्रतिरोधी पुल निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाको सिमानामा पर्ने लेनडाँडामा निर्माणाधीन यो पुल २७० मिटर लामो हुनेछ। पुल निर्माण सम्पन्न भएपछि यसको उचाइ करिब ८१ मिटर पुग्ने बताइएको छ, जुन हालसम्मकै नेपालमा निर्माण भएको सबैभन्दा अग्लो पुल हुनेछ।
नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमका अनुसार पुललाई उच्च भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरी भूकम्प प्रतिरोधी बनाइँदैछ। द्रुतमार्गको चुनौतीपूर्ण भू–भागमा रहेकाले पुल निर्माणमा विशेष इन्जिनियरिङ प्रविधि अपनाइएको उहाँले जानकारी दिनुभयो।



काठमाडौं–तराई–मधेस द्रुतमार्ग ७१।५ किलोमिटर लामो आयोजना हो, जसको सम्पूर्ण व्यवस्थापन तथा निर्माण जिम्मेवारी नेपाली सेनाले लिएको छ। द्रुतमार्ग सम्पन्न भएपछि काठमाडौं र तराई–मधेसबीचको यात्रा समय उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ। यस आयोजनाअन्तर्गत कुल ८९ वटा ठूला पुल र ६ वटा सुरुङ निर्माण गर्ने योजना रहेको छ। हालसम्म ३ वटा सुरुङ र ५ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ। आयोजनाको समग्र भौतिक प्रगति हाल करिब ३८ प्रतिशत पुगेको छ।
सरकारले उच्च प्राथमिकतामा राखेको यो आयोजना समयमै सम्पन्न गर्न नेपाली सेना निरन्तर रूपमा सक्रिय रहेको र बाँकी संरचनाको निर्माण पनि तीव्र गतिमा अघि बढाइने बताइएको छ। द्रुतमार्ग सञ्चालनमा आएपछि यातायात सहज हुनुका साथै व्यापार, पर्यटन र आर्थिक गतिविधिमा समेत उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको छ।




