ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले स्थानीय क्षेत्रमा निर्माणधीन जलविद्युत आयोजनको सहकार्यमा तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ। यातायात सञ्चालनका लागि पक्की मोटरेवल ९मोटर गुड्ने० पुल नभएका कारण गाउँपालिकाले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरेको हो । गाउँपालिकाको ५ नम्बर वडा तापेथोक र ६ नम्बर वडा लेलेप जोड्नेगरी तापेथोकबगरस्थित तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ ।
हिउँद याममा गाउँ–गाउँसम्म यातायात सुविधा पुर्याउने उद्देश्यले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताउनु भयो । गाउँ–गाउँसम्म सडकको पहुँच पुगे पनि तमोर नदीमा पक्की पुल नहुँदा स्थानीय नागरिकले यातायात सुविधा उपभोग गर्नबाट बञ्चित हुनु परेको अवस्थालाई दृष्टिगत गरी काठेपुल निर्माण गरेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ ।जिल्लाकै विकट तथा दुर्गम भेगमा पर्ने फक्ताङ्लुङ गाउँपालिकाले विगतका वर्षदेखि नै हिउँद याममा तमोर नदीमा विभिन्न ठाउँमा काठको अस्थायी मोटरेवल पुल निर्माण गर्ने गरेको छ।







