पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरदेखि निजगढ जाने सडकखण्डमा एलपी ग्यास बुलेट दुर्घटनामा परेपछि सो क्षेत्रमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ। मंगलबार बिहान पूर्वतर्फ जाँदै गरेको यूपी १७ ए २१४ नम्बरको ग्यास बुलेट अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा बुलेट चालक सामान्य घाइते भएका छन्।
दुर्घटनापछि ग्यास चुहावट भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका कारण राजमार्गमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीले यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।ग्यास लिकका कारण आगलागी हुन सक्ने खतरा रहेकाले दमकल र बुलेट हटाउन क्रेन मगाइएको छ। दुर्घटना जंगल क्षेत्रमा भएको हुँदा नजिकै बस्ती भने नरहेको प्रहरीले जनाएको छ।स्थिति पूर्ण रूपमा सुरक्षित नहुँदासम्म राजमार्ग सञ्चालनमा नआउने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रूपा लाबुङले जानकारी दिइन्।







