काठमाडौं । आज प्रथम राष्ट्रिय च्याउ दिवस । नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइएको छ । चन्द्रागिरि नगरपालिकाले पनि प्रथम राष्ट्रिय च्याउ दिवस मनाएको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रथम च्याउ दिवस मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले चन्द्रागिरिको बलम्बु च्याउको राजधानी भएको उल्लेख गर्नुभयो । प्रमुख गिरीले बलम्बुस्थित कोपिला रेष्टुरेन्टबाट सुरु भएको च्याउ खेती अहिले विभिन्न प्रजातिमा विकसित भएको बताउनु भयो । प्रमुख गिरीले अहिले बलम्बुलाई च्याउको राजधानी मानिएपनि अब नगरपालिकालाई नै च्याउको राजधानी बनाउने प्रतिबद्धता जनाउनु भयो । उहाँले आधुनिक च्याउ खेती गर्ने कृषकलाई स्थान छनोट गरी काम गर्न पनि आग्रह गर्नुभयो । च्याउ खेती गर्न चाहने कृषकलाई नगरपालिकाले सक्दो सहयोग र सहकार्य गर्न आफू तयार रहेको पनि बताउनु भयो । उहाँले आगामी दिनमा यस क्षेत्रको थप प्रवद्र्धनका लागि अध्ययन, अनुसन्धान, पूर्वाधार विकास एवं बजारीकरण प्रवद्र्धनमा संलग्न सरोकारवालालाई समन्वय र सहयोगका लागि आह्वान समेत गर्नुभयो ।




कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले बलम्बुको च्याउ ७७ जिल्लामै पुगेको बताउँदै आफ्नो नगरमा यति धेरै च्याउ खेती रहेको पत्याउनै नसकेको तर अर्को जिल्लामा गएर आफ्नो नगरको च्याउको स्वाद लिन पाए पछि आफूले आफ्नो नगरको च्याउ चिनेको बताउनुभयो । उपमेयर श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा नं. १ मा च्याउको उद्योग खोल्न लागेको पनि जानकारी दिनुभयो । उपमेयर श्रेष्ठले संघ र प्रदेशबाट कृषकका नाममा आउने अनुदान कर्मचारीले प्राविधिक समस्या देखाउँदै फिर्ता जाने गलत कार्य भइरहेको बताउँदै त्यस्तो नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाको प्राङ्गणमा च्याउको प्रतिमा निर्माणका लागि शिलान्यास समेत गरिएको छ ।

नगरपालिकाको कृषि विकास शाखाले आयोजन गरेको कार्यक्रममा बलम्बुमा व्यवसायीक च्याउ खेती गर्ने कृषक, च्याउ सहकारीलगायतलाई सम्मान गरिएको थियो । यसैगरी नगरपालिकाको आर्थिक समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा चन्द्रागिरिमा व्यवसायीक रुपमा च्याउ खेती गर्दै आएका च्याउ किसान, वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, सम्बन्धित शाखाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
नेपालको कृषि गार्हस्थ्य उत्पादनमा शून्य दशमलव १५ प्रतिशत योगदान रहेको एवं करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रुपमा रहेको छ । नेपालमा एक हजार १ सय ५० प्रजातिका च्याउमध्ये १ सय ४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र एक सय प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ ।




