नवलपरासी । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा शीतलहर र बाक्लो हुस्सुका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। निरन्तरको शीतलहरले गर्दा पश्चिम नवलपरासीको दाउन्ने खुर्सानीखोला क्षेत्रको सडक अत्यधिक चिप्लो भएपछि सवारीसाधनहरू चिप्लिने र उकालोमा अड्किने समस्या उत्पन्न भएको हो।

सडक अवरुद्ध भएपछि विगत केही दिनदेखि राजमार्गमा सवारीसाधनको लामो लाइन लागेको छ, जसका कारण यात्रुहरूले निकै सास्ती भोग्नुपरेको छ।

१५ सय सवारीसाधन जाममा

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी, प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार:

• दाउन्नेदेखि दुम्कीबास जङ्गलसम्म करिब १५ सय सवारीसाधन जाममा फसेका छन्।

• बाक्लो हुस्सु र शीतलहरले गर्दा भिजिबिलिटी (दृश्यता) कम हुँदा सवारी चलाउन कठिनाइ भएको छ।

• जाम बिस्तारै खुलाउने प्रयास गरिए पनि मौसमी प्रतिकूलताले चुनौती थपेको छ।

सडक निर्माण र हिलोको समस्या

नारायणगढ–बुटवल सडकखण्ड योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर विकास खनालका अनुसार सडक विस्तारको काम भइरहेको स्थानमा शीतलहरको चिस्यानले माटो हिलाम्य भएको छ। विशेष गरी खुर्सानीखोलाको उकालोमा मालबाहक सवारीसाधन उक्लिन नसक्दा समस्या जटिल बनेको हो। हाल सो क्षेत्रमा ग्राभेल गर्ने काम भइरहेको छ भने ठूला मालबाहक सवारीलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकिएको छ।

आयोजनाद्वारा वैकल्पिक सडक प्रयोग गर्न अपिल

सडकको अवस्था बिग्रेपछि आयोजनाले एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

प्रस्तावित वैकल्पिक मार्गहरू:

1. नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल: पूर्वपश्चिम यात्रा गर्ने सवारीका लागि।

2. कालीगण्डकी करिडोर: गैँडाकोट (कालीगण्डकी चोक) – रामपुर – पिपलडाँडा हुँदै बुटवल जान सकिने।

3. काठमाडौं–पोखरा मार्ग: काठमाडौंबाट बर्दघाट पश्चिम जाने र बुटवलबाट काठमाडौं जाने सवारीका लागि।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय