काठमाडौं । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पन्छीहरूको अवस्था र संख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण संघ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपन्छी गणनाका लागि गणक परिचालन गरिएको जनाइएको छ ।

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छीविद् संघ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एशोसिएशन तथा कञ्चनपुर पन्छी संरक्षण समूहका प्रतिनिधि संलग्न छन् ।

नेपाल पन्छी संरक्षण संघका वरिष्ठ चरा विज्ञ हिरुलाल डगौराले वाइनाकुलर, दूरबिन, क्यामेरा, जिपिएसलगायतका उपकरणको प्रयोग गरी २० भन्दा बढी गणकमार्फत जलपन्छी गणना भइरहेको जनाउनु भयो । हिँडेर पुग्न नसकिने ताल तलैया क्षेत्रमा हात्तीको प्रयोग गरी गणना गरिएको छ ।

उहाँले निकुञ्जभित्र जलपन्छीका लागि प्रसिद्ध शिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी–बढनी ताल, राधापुर सिमसार, झिलमिला तथा रतनपुर सिमसारमा गणना भइरहेको छ । त्यसैगरी निकुञ्ज बाह्य क्षेत्रमा महाकाली नदी, पुरैनी ताल, बन्दा ताललगायत सिमसार क्षेत्रमा पनि गणना गरिनेछ ।

गणनाका क्रममा जलपन्छीका प्रजाति, संख्या, सम्भावित खतरा, मानव गतिविधि र बासस्थानसँग सम्बन्धित समस्याहरूको विवरण संकलन गरिनेछ ।

जलपन्छी गणना प्रत्येक वर्षझै यस वर्ष पनि जनवरीको पहिलो शनिबारदेखि गरिन्छ । यसवर्ष यही पुस १९ देखि माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय