काठमाडौं । गोरखा र चितवनको सिमानमा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रमा त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । त्रिशूली नदीको झोलुङ्गे पुल नजिकै नदीमा पस्दा अचानक बगाएर बेपत्ता भएका हुन् ।



बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसारा निवासी २१ वर्षीय शंकर चौधरी र राजापुर नगरपालिकाका २२ वर्षीय सौरभ थारु रहेका छन् । दुबै जना गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली हाइड्रोपावर आयोजनामा कार्यरत मजदुर भएको प्रहरीले जनाएको छ । घटनापछि खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनघाटबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो ।
शनिबार बेलुका नै नदी आसपासका क्षेत्रमा खोजी गरिए पनि उनीहरुको कुनै अत्तोपत्तो नलागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्रिशुली नदीमा नदीको बहाब तीव्र भएकाले खोजी कार्य आइतबार बिहानबाट पनि थप जनशक्ति र उपकरणसहित खोजी कार्यलाई निरन्तरता दिइने सशस्त्र प्रहरीले जनाएको छ ।
स्थानीय प्रशासनले नदीमा नुहाउँदा सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । घटनाले स्थानीयवासी तथा आयोजनामा कार्यरत मजदुरहरु चिन्तित भएका छन् ।




