काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ का स्थानीयले महानगर यातायातलाई सेवा नदिए बन्द गर्न चेतावनी दिएका छन् । महानगर यातायातले नियमित रुपमा सेवा नदिपछि रुष्ट स्थानीयले आज चेकपोष्ट–गोदाम खण्डअन्तर्गत गौचरणमा बस रोकेका हुन् ।



चन्द्रागिरि नगरपालिका, धुलिखेल नगरपालिका र महानगर यातायातबीच सम्झौता भई दैनिक ४० वटा बस धुलिखेल–गोदाम सञ्चालन गर्ने सहमति विपरित महानगरले बस सञ्चालन नगरेपछि स्थानीय आक्रोशित भएका हुन् ।
स्थानीयले महानगर यातायातका चालकले कहिले चन्द्रागिरिको दाउरा डिपोमै ओरालिदिने, कहिले चेकपोष्ट चोकमा छोडिदिने र महानगरका चालक सह–चालकले अभद्र व्यवहार गरेको गुनासो समेत गरेका छन् ।
सडकमै विवाद भएपछि चन्द्रागिरि नगरपालिका वडा नं.७ का जनप्रतिनिधिले महानगर यातायात समितिका पदाधिकारी र स्थानीयबीच छलफल समेत गरेको छ । वडाका कार्यबाहक अध्यक्ष भुवन केसी र वडा सदस्य पूर्ण कुमारी बयलकोटीले अबको सात दिनमा समस्या समाधान गरी बस नियमितरुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
महानगर यातायात बस व्यवसायी समितिका पदाधिकारीले अबदेखि नियमित रुपमा सेवा दिने बताएपछि बस सुचारु भएको थियो ।
केहीदिन अघि OUR NEWS CREW ले ‘चन्द्रागिरि नगर अस्पतालमा पुग्नै सास्ती, आधा दिन कुर्दा पनि पाईँदैन यातायात’ शीर्षकमा समाचार प्रसारण गरेको थियो ।
यो पनि पढ्नुहोस्
चन्द्रागिरिको नगर अस्पतालमा पुग्नै सास्ती, आधा दिन कुर्दा पनि पाईंदैन यातायात




